काठमाडौं । लकडाउनका कारण बन्द भएको सार्वजनिक सवारी चलाउने अनुमति दिए पनि व्यवसायी घुर्की लगाएर बसेका बेला साझा यातायत सडकमा निस्कने भएको छ । काठमाडौंका सडकमा छिटपुट मात्रै सार्वजनिक सवारी दिएका छन् । मयुर, सुन्दर, संयुक्त यातायातका साथै केही टेम्पो तथा माइक्रो बसहरू बुधबार काठमाडौं उपत्यकाका सडकमा चलेका छन् । साझा यातायातले पनि आज साउन १ गते बस सञ्चालनमा ल्याएको छ । बिहीबार बिहान ७ः३० बजेदेखि बेलुकाको ७ बजेसम्म साझा बस चढ्न पाइने भएको छ । काठमाडौं उपत्यकाभित्र पहिले चलिरहेकै रुटमा साझा बस पुनः चल्ने भएको हो । साझा बस लगनखेलदेखि बसपार्क, रत्नपार्क, बुढालिनकण्ठ, बुङमती, थानकोट, कमलविलायक, लगनखेल, एयरपोर्ट, दक्षिणकाली, लामाटार, भक्तपुर सुर्यबिनायक लगायतका रुटमा चल्नेछन् ।
सरकारले तोकेको भाडा दर ५० प्रतिशत थप गर्ने भने अनुसार नै साझा बस चलाइने भएको हो । त्यस्तै सरकारले तोकेको सुरक्षाको मापदण्ड बमोजिम नै साझा बस सञ्चालनमा आएको हो । बसका कर्मचारीदेखि यात्रुहरूले पनि स्यानिटाईजर प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैगरी चालक र सहचालकले पन्जा लगाउनुपर्ने हुन्छ । बस चढ्दादेखि ओर्लदासम्म व्यक्तिगत दुरी कायम राखेर यात्रा गर्न साझाले अनुरोध गरेको छ। अहिलेको समयमा नाफा नोक्सान भन्दा पनि सेवामा केन्द्रित भएको साझाको भनाइ छ ।