काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सुन सस्तिएको छ । भदौ ३ गते, कृष्ण जन्माष्टिका दिन सुन तोलामा ४०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले गिरावट भएको हो । सुनचाँदीको मूल्य लगातार पाँचौ दिन ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा झरेको छ । गत शुक्रबार सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो साताको पहिलो दिन मात्र सुनको मूल्य वृद्धि भएको थियो । त्यस दिन सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँ पुग्यो । तर त्यसपछि भने नेपाली बजारमा सुनको मूल्य निरन्तर घटिरह्यो । सुन शुक्रबारसम्म आइपुग्दा तोलामै २ हजार ३०० रुपैयाँले गिरावट भएको छ । शुक्रबार चाँदीको भाउ पनि घटेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १८५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
चाँदी गत पाँच दिनदेखि लगातार सस्तिँदै छ । आइतबारयता चाँदी प्रतितोला ६५ रुपैयाँले घटेको छ । साताभरमा चाँदी आइतबार सबैभन्दा महंगो भएको थियो । त्यस दिन, चाँदी प्रतितोला एक हजार २५० रुपैयाँ पुगेको थियो ।