काठमाडौंं । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्गको शिलान्यास आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट सुरुङमार्गको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सडकतर्फ पहिलो पटक सुरुङमार्ग निर्माण हुन लागेको हो ।
चन्द्रागिरि नगरपालिकाको टुटेपाखादेखि सिस्नेखोलासम्म दुई वटा सुरुङ निर्माण हुने बताइएको छ । नियमित सवारी सञ्चालनका लागि साढे नौ मिटर चौडाइको र आपतकालीन अवस्थाका लागि चार मिटर चौडा गरी दुई सुरुङमार्ग निर्माण भएको हो । दुबै सुरुङमार्गको लम्बाई २.७ किलोमिटर हुनेछ । नागढुंगादेखि सिस्नेखोलासम्मको घुमाउरो सडकको चार किलोमिटर दूरी घटनाउने छ भने पट्यारलाग्दो जामको समस्या पनि समाधान हुने बताइएको छ ।
सुरुङमार्ग निर्माणका लागि यसअघिनै ६ असोजमा सडक विभाग र जापानी निर्माण कम्पनी हाज्माअन्द्रोबीच सम्झौता भइसकेको थियो । विभागले निर्माण तयारीका लागि दिएको एक महिनाअघि नै ठेकेदार कम्पनी काम गर्न तयार भएपछि शिलान्यास गरिन लागेको हो ।
सो सुरुङमार्ग न्यु अष्ट्रियन टनेलिङ मेथड (एनएटिएम) प्रविधबाट निर्माण हुनेछ। सुरुमा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिने चर्चा गरिए पनि सुरुङमार्गको दूरी छोटो भएका कारण एनएटिएम प्रविधि प्रयोग गर्न लागिएको हो ।
सम्झौताअनुसार सो सुरुङमार्गको निर्माणकार्य ४२ महिनामा पूरा हुनुपर्नेछ । सुरुङमार्ग निर्माणका लागि १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यद्यपि ठेकेदार कम्पनीसँग १३ अर्ब ५० करोड रुपैयाँमा सम्झौता भएको छ। सुरुङमार्ग अनुगमनका लागि करिब एक अर्ब रुपैयाँ छुट्याइएको छ ।