काठमाडौं । एनसीसी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.९३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ५३.४५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २४.५८ प्रतिशत र सञ्चालन मुनाफा ३९.१७ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २५ पैसा बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.६२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष २२.९६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २६.१६ प्रतिशत र कर्जा २८.१३ प्रतिशत बढेको छ।