free website hit counter

चन्द्रागिरी हिल्सको आईपिओ पुस २४ गतेदेखि निष्काशन

beemaadmin
२०७७ पुष १७, शुक्रबार

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले यही पुस २४ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीलाई आईपिओ वितरण गरेको कम्पनीले दोस्रो चरणमा सबै सर्वसाधारणले खरिद गर्न पाउने गरी आईपिओ निष्काशन गरेको हो । काठमाडौंको थानकोटदेखि चन्द्रागिरी पहाडसम्म केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स कम्पनीले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरुका लागि सुरक्षित गरेको जनाएको छ । चन्द्रागिरी हिल्सको उक्त शेयर मध्ये १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिनेछ । चन्द्रागिरी हिल्सको आईपिओ पुस २४ गतेबाट खुल्ला भई छिटोमा पुस २८ गते र ढिलोमा माघ ९ गते बन्द हुने कम्पनीले जनाएको छ ।

सो आईपिओमा लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्ने आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजि एक अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार