काठमाडौं । विश्वभर कोरोनाको आतंक छ । यतिबेला आफू बाँचौं अरुलाई बचाऔं भन्ने बेला हो । तर काठमाडौं कीर्तिपुरका एक घरधनीले नौ महिनाकी गर्भवतीलाई जबरजस्ती डेराबाट निकालेका छन्। कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्। बागलुङ जैमिनी नगरपालिकाकी देवीका पति बैकुन्ठ शर्मा जाजरकोटमा अध्यापन गराउँछन्। काठमाडौंमा आउँदाजाँदा बस्नुपर्ने भएकाले शर्माले कीर्तिपुरमा पनि डेरा लिएका थिए। कीर्तिपुर आउनुअघि देवी जाजरकोटमा पतिसँगै बस्थिन्। जाजरकोटबाट आएकाले कोरोना संक्रमण हुन सक्ने भन्दै घरधनी महर्जनले गर्भवती देवीसहित उनका पति र सानो बालकलाई डेराबाट निकालेर ढोकामा ताला लगाएका छन्। चिकित्सकले यही वैशाख अन्तिम साता सुत्केरी हुने समय तोकेकाले उनीहरु गत बुधबार एम्बुलेन्समा कीर्तिपुरस्थित डेरामा आएर बस्न थालेका थिए। घरधनीले कोरोनाको आशंकामा कोठाबाट निस्कन दबाब दिएपछि शर्माले प्रहरी र स्वास्थ्यकर्मीलाई खबर गरेर परीक्षण गराएका थिए। परीक्षणमा तीनैजनाको रिपोर्ट नेगेटिभ आएको थियो। घरधनी महर्जनले उनीहरूलाई कोठाबाट निकालेको स्वीकार गर्दै छरछिमेकी डराएकाले कोठाबाट निस्कन भनेको उनले बताए।