free website hit counter

जति मूल्य बढाए पनि आयल निगम घाटैमा

beemaadmin
२०७८ फाल्गुन २०, शुक्रबार

काठमाण्डौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो। निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको छ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य १३३ रुपैयाँ पुगेको छ। निगमनले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन। पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको निगमले अझै घाटामा रहेको जनाएको छ। निगमका अनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढाएपछि पनि मासिक साढे २ अर्ब घाटा हुने भएको छ।
प्रतिलिटर पेट्रोलमा १६.२८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ११.७८ रुपैयाँ घाटा हुने निगमको भनाइ छ। यसबाहेक मट्टीतेल र हवाई इन्धन (आन्तरिक र बाह्य)तर्फको बिक्रीमा भने निगम नाफामा रहेको छ। रुसले छिमेकी मुलुक युक्रेनमा सैन्य हमला सुरु गरेसँगै विश्वव्यापी रुपमा पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्दै आएको छ। आज विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११७ अमेरिकी डलर पुगेको छ। यससँगै नेपालमा आगामी दिनमा पेट्रोल र डिजेलको मूल्य थप बढने देखिन्छ।

सम्बन्धित समाचार