काठमाडौं । कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र धरासायी भएको छ । विदेशी भूमिमा पसिना बगाउन गएका हजारौं नेपाली रोजीरोटी गुमेपछि स्वदेश फिर्तिको प्रतिक्षामा उराठ दिन बिताइरहेका छन् । यही बेला कोरोना जोखिम कम भएका मुलुकहरुमा नेपाली कामदार पठाउने तयारीमा सरकार पुगेको छ । फागुन ३० गतेदेखि श्रम स्वीकृति रोकिएको छ । त्यसअघि श्रम स्वीकृति लिएका र सबै प्रकृया पुरा गरेर रोकिएकाहरु रोजगारको लागि पठाउने तयारीमा सरकार लागेको हो । लकडाउनको बीचमा दक्षिण कोरिया,जापान लगायत केही खाडी मुलुकमा रोजगारीका लागि युवाहरु गएका छन् । सरकारले लकडाउनको बीचमा ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने समेत निर्णय गरेको थियो । भिसा आएर जान नपाएका उनीहरुको भिसा नै स्थगित हुने अवस्था आएपछि दुई देशको सहमतिमा कामदारलाई कोरिया जान दिने निर्णय गरेको हो । कोरियाले भिसा दिएको तीन महिनाभित्रै कोरिया पुग्नुपर्ने नियम भएपछि सरकारले सबै तयारी पुगेका कामदारहरुलाई कोरिया जान सकिने व्यवस्था गरेको हो । सरकारले कोरोना संक्रमणको जोखिम कम भएका मुलुकहरुमा कामदार पठाउने तयारी समेत गरेको छ । सरकारले आंशिक रुपमा वैदेशिक रोजगारी खुला गर्ने तयारी थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा विदामा आएकाहरुलाई रोजगारीमा जान दिने गरी तयारी गरेको छ । फागुन ३० गते देखि श्रम स्वीकृति बन्द गरेपछि बैदेशिक रोजगारीबाट विदामा घर आएका बेला नेपालमै रोकिएका छन् ।