काठमाण्डौ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले तीन निर्जिवन बीमकलाई आर्थिक दण्ड जरिवारना गरेको छ । यसरी कारबाहीमा पर्नेमा प्राधिकरणले युनाइटेड अजोड, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । प्राधिकरणको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ती निर्जीवन बीमा कम्पनीहरुलाई २ लाख रुपैयाँका दरले आर्थिक कारबाही गरेको हो । प्राधिकरणले स्थलगत निरिक्षणका क्रममा उक्त कम्पनीहरुले उधारो बीमा, रेट कटिङ गरेको, सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको र दाबी भुक्तानीमा बीमितलाई दु:ख दिएको भन्दै २ लाख रुपैयाँका दरले जरिवाना भराएको प्राधिकरणका उप–निर्देशक शाम्भाराज लामिछानेले बताएका छन् । प्राधिकरणले स्थलगत निरिक्षणका क्रममा सो खालका कैफियत फेला पारेको थियो । ती कम्पनीहरुबाट चित्त बुझ्दो स्पष्टीकरण प्राप्त नभएपछि जरिवाना तिराएको लामिछानेले बताए ।