काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २० लाख ७३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले युनाइटेड अजोड इन्स्योरेन्सको नाममा रहेको सोबराबरको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले खरिद आवेदन दिन पाउनेछन् । खरिदकर्ताले प्रचलित बजार मूल्यअनुसार प्रतिकित्ता न्यूनतम १८१ रुपियाँका दरले कम्तीमा पाँच हजार कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ । इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र काठमाडौंको सुन्धारास्थित कम्पनीको प्रधान कार्यालय वा थापाथलीस्थित नेपला पुनर्बीमा कम्पनीमा खरिद गर्न चाहेको शेयर विवरण खुलाई आवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि पूर्ण आवेदन नपरेमा बाँकी शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।