free website hit counter

पर्यटन क्षेत्रलाई ब्यूत्याउने चेम्बरको १७ सुझाव

beemaadmin
२०७७ बैशाख १७, बुधबार

 

काठमाडौं । कोरोना संक्रमणले विश्वको स्वास्थ्यालाई मात्रै होइन अर्थतन्त्रलाई पनि धरासायी बनाइसकेको छ । विकसित मुलुकहरुले अर्थतन्त्रलाई टेवा दिने उद्देश्यले आर्थिक प्याकेजका कार्यक्रमहरु ल्याइसकेका छन् भने अल्पविकसित मुलुकले त्यस्ता कार्यक्रम ल्याउन सक्लान कि नसक्लान् भविष्यले नै बताउने छ । नेपालमा कारण प्रभावित भएको पर्यटन क्षेत्रको पुनरुत्थानको लागि नेपाल चेम्बर अफ कमर्शले सरकारलाई १७ वटा सुझाव दिएको छ। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सोमबार पर्यटनमन्त्री योगश भट्टराई समक्ष पर्यटन प्रवद्र्धन र हवाइ सेवातर्फ गरी १७ वटा सुझाव पेश गरेका हुन्। चेम्बरले दिएका सुझावहरु निम्नअनुसार रहेका छन् ।

 

पर्यटन प्रवद्र्धन तर्फ

 

१. आन्तरिक पर्यटनतर्फ कोरोनाको प्रभाव कम हुने बित्तिकै अघि बढाउनु आवश्यक छ र यसका लागि सरकारले अनिवार्य रुपमा वर्षको एक पटक निजामती तथा संगठित संस्थाका कर्मचारीहरु र आम नागरिकहरुलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक भ्रमणको लागि प्रेरित गर्न र निजी क्षेत्रलाई पनि प्याकेजहरुमार्फत केही छुट दिएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने वातावरण बनाउनु पर्छ।

 

२. हाल चीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुंदै गएको सन्दर्भमा आउँदो सेप्टेम्बर–अक्टोबर महिनामा शुरु हुने पर्यटकीय सिजनमा चीनका विभिन्न शहरबाट पर्यटक भित्र्याउनेतर्फ सरकारी स्तरमै पहल गरिनु पर्ने।

 

३. नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र चाइनिज एयरलाइन्सहरुले चीनको विभिन्न शहरबाट प्रतिस्पर्धि प्याकेजमा पर्यटकहरु भित्र्याउने तर्फ पहल गरिनु पर्ने।

 

४. पर्यटन प्रबर्द्धन गर्न निजी क्षेत्रले पनि कष्ट टु कष्ट वेसिसमा होटल लगायत अन्य पर्यटकीय सुविधा प्रदान गर्न सुनिश्चितता प्रदान गर्ने गरी अधिकतम पर्यटक ल्याउने गरी तयारी गरिनुपर्छ।

 

५. पर्यटन क्षेत्रमा डिसइन्फेक्सनलाई पहिलो प्राथमिकतामा राखि अनिवार्य गर्ने तथा कडाइका साथ अनुगमन समेत गर्ने। हवाईजहाज, बस, कारसहित बास बस्ने स्थानहोटल, रिसोर्ट, होमस्टे, रेस्टुराँ तथा विमानस्थल, बसस्टप, टिकट तथा चेक-इन काउन्टर, संग्रहालय, ¥याफ्टिङ्ग, बन्जी, प्याराग्लाइडिङ्ग, साइक्लिङ्ग, बोटिङ्ग, हात्तीसफारी लगायतका पर्यटकीय क्षेत्र र साधनमा नियमित रुपले डिसइन्फेक्ट गर्नुपर्ने र यसबाट सुरक्षाको महशुस गराउन सकिने।

 

६. सबैभन्दा बढी प्रभावित होटल तथा एयरलाइन्सहरुलाई वित्तीय प्याकेजमार्फत उद्धार गरिनुपर्ने। ऋण, ऋणको ग्यारेण्टी, कर्पोरेट बोण्डमा सरकार वा राष्ट्र बैंकबाट टेवा दिनुपर्ने। कर छुट तथा एयरपोर्ट चार्ज लगायतमा सुविधासहित वित्तीय सहयोग प्रदान गर्नुपर्ने।

 

७. भ्रमण वर्ष सचिवालय खारेज भइसकेको सन्दर्भमा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउने। यसले पर्यटन रिभाइवलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालय अन्तर्गतका मुख्य निकायहरूका लागि थिंक ट्यांकको काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र सन् २०२२ सम्म ‘रिभाइवल’का लागि विशेष कार्यक्रमहरू बनाइ कार्यान्वयन गर्ने र छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका खेल्ने।

 

८. कोरोना भाइरसको प्रकोपको कारण पूर्वीय संस्कृति बारे खास गरेर योग लगायतका सम्बन्धमा पश्चिमीमुलुकमा धेरै नै चासो बढेको र नेपाल सांस्कृतिक तथा धार्मिक कारणले नेपालको आफ्नै गरिमा भएको हुंदा यसको प्रबर्द्धन गर्न सकिएमा पश्चिमी पर्यटकको संख्या वृद्धि हुने भएकोले यसतर्फ पहल गरिनु पर्ने।

 

९. मेडिकल टुरिजम, होम-स्टे, एग्रो-टुरिजम, कल्चरल-टुरिजम लगायत विधागत पर्यटन प्रबर्द्धनका लागि ठोस कार्यक्रम ल्याउने।

 

हवाइ सेवातर्फका सुझाव

१. आईसीएओ तथा अन्य मुलुकका हवाई सेवा प्रदायकसंग सम्पर्क गरी वायुसेवा उडान कहिलेदेखि सुरक्षित रुपमा संचालन गर्न सकिनेरु सो बारेमा छलफल गरी नेपाल वायुसेवा निगमलाई समेत संचालन गर्न पाइला चाल्नु पर्ने।

 

२. पर्यटक चाप घटेको यो बेलामा पर्यटन पूर्वाधारको निर्माणलाई तिव्रता दिइनुपर्छ। राष्ट्रिय महत्वका भैरहवा र पोखरा विमानस्थल निर्माणलाई तिव्रता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण तथा सौंदर्यीकरण, अन्य विमानस्थलको स्तरोन्नति, पदमार्गहरुको मर्मत सम्भार लगायतका काम यही बेला गर्न सके आन्तरिक रोजगारी सिर्जना हुने तथा भविष्यका लागि पनि राम्रो तयारी गर्न सकिन्छ। निजी क्षेत्रबाट पूर्वाधार निर्माणका लागि राज्यले प्रोत्साहन मूलक प्याकेज ल्याउन सकिने।

 

३. हवाइ उड्डयनतर्फ ऋण दिन वित्तिय संस्था हिच्किचाउने हुंदा ऋण, ऋणको ग्यारेण्टी, कर्पोरेट बोण्डमा सरकार वा राष्ट्र वैंकबाट टेवा दिनुपर्ने। कर छुट लगायत वित्तिय सहयोग प्रदान गर्नु पर्ने । साथसाथै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेकोले हवाइभाडा दर पनि घटाइनु पर्ने।

 

४. अहिलेको बिषम परिस्थितिमा हवाइ यात्रुहरुको डिपार्चर अगाडी अनिवार्य रुपमा कोरोना परीक्षण गरिएको हुनुपर्ने।

 

५. हाल सीमित पाटपूर्जामा मात्र दिईंदै आईएको मूल्य अभिवृद्दी कर छुट वायूयानका सम्पूर्ण पार्टपूर्जाहरुमा उपलब्ध हुनुपर्ने।

 

६. देशमा पुनर्विमाको सुविधा नगन्य मात्र उपलब्ध भएकोले हवाई बीमामा लगाउँदै आईएको मूल्य अभिवृद्दी कर र अग्रिम कर छुट हुनुपर्ने। साथै हालको परिस्थितिमा कम्तिमा ग्राउन्डेड जहाजको बीमाको सम्पूर्ण व्यवस्था नेपाल पुनर्विमा कम्पनीबाट सहुलियत दरमा हुनुपर्ने।

 

७. नेपाल आयल निगमले हाल माग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेण्टीको व्यवस्था गरी हाल लिएको नगद धरौटी फिर्ता गर्ने व्यवस्था हुनुपर्ने।

 

८. नेपाल नागरिक उड्डयन प्राधिकरणले लिन ल्यान्डिङ, पार्किङ, नेभिगेसन, काउन्टर रेन्ट लगायत रिनिवल जेडएनएस ग्राउन्डेड जहाजको ग्राउन्डेड अवधिभर शुन्य र अन्यको आन्तरीक हवाई सेवा स्थगित रहेको अवधिभरलाई मिनाहा गर्नुपर्ने ।

सम्बन्धित समाचार