काठमाण्डौ । अर्थतन्त्र कमजोर हुँदा सबै क्षेत्र प्रभावित भएको छ । यसको असर वीमा व्यवसायमा पनि परेको छ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को ५ महिनामा ६१ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले ६१ अर्ब ७४ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । जुन गत आवको सोहि अवधिको तुलनामा ३.७५ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिसम्म जीवन बीमा कम्पनीले ५९ अर्ब ५१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए । मंसिर महिनासम्म सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले १६ अर्ब ७६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेर शीर्ष स्थानमा छ । त्यस्तै, ७ अर्ब १६ करोड रुपैया बीमाशुल्क आर्जन गरेको नेशनल लाइफ दोस्रो स्थानममा छ । एलआइसी नेपालले ६ अर्ब ९२ करोड, हिमालयन लाइफले ६ अर्ब ७९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५२ करोड, सुर्यज्योतिले ३ अर्ब ४५ करोड र एशियन लाइफले ३ अर्ब २ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
गत वर्षको तुलनामा अधिकांश जीवन बीमा कम्पनीले व्यवसाय बढाउन सफल भएका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी, सन नेपाल लाइफ र एलआइसी नेपालको व्यवसाय गत वर्षको तुलनामा घटेको छ, भने बाँकी सबै कम्पनीको व्यवसाय वृद्धि भएको छ । गत आवको तुलनामा सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीले गत वर्षको तुलनामा १५.९३ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । त्यस्तै, हिमालयन लाइफले १३.३४ प्रतिशत, आइएमई लाइफले ११.१८ प्रतिशत, नेशनल लाइफले ९.५४ प्रतिशत, एसियन लाइफले ७.८४ प्रतिशत, नेपाल लाइफले ७.२४ प्रतिशत, रिलायबल नेपाल लाइफले ६.८९ प्रतिशत, सानिमा रिलायन्स लाइफले ६.६८ प्रतिशत, मेट लाइफले ४.६३ प्रतिशत, सिटिजन लाइफले १.६५ प्रतिशत र सुर्यज्योति लाइफले ०.०८ प्रतिशतले व्यवसाय बढाएका छन् ।