free website hit counter

प्रहरी हत्या प्रकरण : समातिएका १६ मध्ये ६ जनाले स्वीकारे अपराध

beemaadmin
२०७७ कार्तिक ४, मंगलवार

कैलाली । धनगढीमा शनिवार दुई जना प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तले हत्या स्वीकारेका छन्। आइतवार बिहान बिभत्स हत्या गरिएको अवस्थामा फेला परेका असई गोविन्द विक र उनीसँगै गस्तीमा खटिएका बेला बेपत्ता भई मङ्गलवार बिहान शव फेला परेका प्रहरी जवान रामबहादुर साउदको हत्या आफूले गरेको अभियुक्तले बयान दिएका हुन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म १६ जनालाई पक्राउ गरिसकेको छ। उनीहरूमध्ये ६ जनाले हत्या स्वीकारेको प्रहरी श्रोतले जानकारी दिएको छ। अभियुक्तले दिएको साविती बयानमा उनीहरूले सुरुमा जवान र त्यसपछि असईलाई मारेर नदीमा फालेको स्वीकारेका छन्। हत्या स्वीकारेका ६ जना र अन्य १० जनालाई छुट्टा–छुट्टै राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले घटनामा संलग्न अभियुक्तको पहिचान भइसकेको बताए। उनले अनुसन्धान जारी रहेको र घटनामा संलग्न अरू पनि हुनसक्ने भएकाले चाँडै नै घटनालाई निष्कर्षमा पुर्‍याउने बताए। उनले भने, घटनाका विषयमा पत्रकार सम्मेलनमार्फत चाँडै नै जानकारी दिन्छौँ। तस्करको समूहले दुवै प्रहरीको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
मङ्गलवार बिहान फेला परेका जवान साउदको पनि घाटीमा गहिरो चोट रहेको प्रहरीको भनाई छ। यसअघि आइतवार बिहान फेला परेका असई विकको पनि घाटी र गर्दनमा धारिलो हतियारको चोट देखिएको थियो। प्रहरीले असईका साथमा रहेको पेस्तोल समेत मङ्गलवार मोहना नदीमा भेट्टाएको छ।

गत शनिवार कार्तिक १ गते बेलुका ८ बजे मोटरसाइकल लिए गस्तीमा निस्किएका असई र जवान १२ बजेसम्म पनि नफर्किए पछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज विक र जवान साउदको धनगढी १० स्थित मोहना नदीमा पानीमा शव फेला परेको हो।

हत्यामा घरेलु हतियारको प्रयोग
मटर तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक विक र जवान साउदको हत्या भएको खुलेको छ । घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका ६ जनाले विक र साउदको हत्या गरेको स्वीकार्दै तस्करीमा अवरोध गरेकै कारण घटना भएको उल्लेख गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकाका आधारमा समातिएका १३ जनामध्ये ६ जनाको संलग्नता देखिएको छैन । अन्यले भने अभियोग स्वीकारेका छन् । जवान साउदको टाउकोमा लाठी र गर्धनमा फरुवाको जस्तो चोट देखिएको छ । असई विकको हराएको पेस्तोल र मोबाइल पनि नजिकै भेटिएको छ ।

सम्बन्धित समाचार