रौतहट । मुलुक लगातारको लकडाउनका कारण मर्कामा परेका गरिब, असहाय, बिपन्नलाई कुुहिएको दाल, चामल राहतका रुपमा वितरण गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले मेयर यादवलाई मंगलबार बिहान पक्राउ गरेको हो भने यसअघि नै प्रहरीले ५ वडाध्यक्ष, ३ जना कर्मचारी र एक जना दाल आपूर्तिगर्ने ठेकेदारलाई पक्राउ गरिसकेको थियो । कुहिएको दाल यादवले कलैया नगरपालिका वडा नम्बर ७ मा रहेको ‘यादव कोल्ड स्टोर’मा भण्डारण गरेको पाइएपछि चैत २९ गते प्रशासनबाट शिलबन्दी गरिएको थियो । सो कोल्डस्टोर कलैया उपमहानगरपालिकाका मेयर यादवकै हो । कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनकामा गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई मेयरले कुहिएको दाल राहत स्वरुप वितरण गरेको उजुरी परेपछि प्रहरीले अनुसंधान थालेको थियो । कलैया मनपा वडा नम्बर २० बस्तपुरमा बितरण गर्नका लागि राखेको दाल ४ बर्ष पुरानो कुहिएको रहेको जानकारी स्थानीयहरुले दिएपछि बाराका सिडिओ रुद्र प्रसाद पण्डितको नेतृत्वको टोलीले चैत २९ अघिसुरुमा २५ किलोको २५ बोरा दाल नियन्त्रणमा लिएको थियो । उक्त दाल यादव कोल्ड स्टोरबाट ल्याएको सूचना प्राप्त भएपछि छापा मार्दा ३ सय ८० बोरा दाल बरामद हुँदा कोल्डस्टोरमा शिलबन्दी गरिएको थियो ।