काठमाडौं । अर्थ मन्त्रालयको जिम्मेवारीमा विष्णु पौडेललाई चोहेको शेयर बजारले वर्षमान पुनलाई पाएको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर बजार सम्बन्धी नीतिगत व्यवस्थाहरुलाई मजबुत बनाउदै अगाडि बढ्ने बताएका छन्। निरन्तर रुपमा घटिरहेको बजारको विकास गर्दै लगानीकर्ताहरुको हितमा काम गर्ने उनले अभिव्यक्ति दिएका छन्। अर्थमन्त्री पुनले कार्यभार सम्हाल्दै लगानीकर्ताको मनोबल बढाउने काम गर्नुपर्नेछ। शेयर बजारलाई विगतमा जस्तो नभइ परिवर्तशिल भएर हेनुपर्ने उनले बताए। शेयर बजारको प्राकृतिक स्वभाव नै उतारचढाव हो सूचक तलमाथि भइरहन्छ। अहिले बजारमा देखिएका समस्याहरूलाई संरचनागत तथा नीतिगत रूपले सुधार गर्नुपर्छ। बजारमा ६० लाखभन्दा धेरै लगानीकर्ता छन्। यती धेरै लगानीकर्ता आवद्ध रहेको क्षेत्र सुधार र विकास गर्नुपर्नेमा मन्त्रीले जोड दिएका छन्। उनले भने, जनताको अपेक्षा धेरै ठूलो छ। अर्थतन्त्रलाई नयाँ दिशा दिनुपर्नेछ। अहिलेको अवस्था सहज छैन। अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्ने हो। यो असहज परिस्थितीमा सहज अवस्थामा ल्याउन प्रतिबद्ध छु। यस अघि वर्षमान पुन २०६८ भदौ १८ गते अर्थमन्त्री भएका थिए। उनको कार्यकालमा शेयर बजार सकारात्मक रहेको थियो। उनी अर्थमन्त्री बन्दा नेप्से सूचक ३३९.२६ अंकमा थियो। उनको कार्यकालमा सूचक ५५५.९३ अंकसम्म पुगेको थियो।