काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सिद्धार्थ इन्स्योरेन्स कमपनीले ३० करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले ३० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले यस अवधिमा ९२ करोड ४० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १३.९३ प्रतिशतले बढी हो । अघिललो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ८० करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ३५ करोड ३७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ११ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३३ करोड ७ लाख रुपैयाँ, बीमा कोषमा ९८ करोड ९१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ४२ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २२४ रुपैयाँ ४७ पैसा, र मूल्य आम्दानी अनुपात ३९.१९ गुणा रहेको छ ।
हालसम्म १ लाख ७६ हजार ८८२ वटा बीमालेख जारी गरी २ अर्ब ३३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा इन्स्योरेन्सका ४० हजार १३७ वटा बीमालेख नवीकरण भएका छन् ।