free website hit counter

सुरक्षा निकायको निगरानीमा छन् दुर्गा प्रसाई

beemaadmin
२०८२ कार्तिक ६, बिहीबार

काठमाडौं । स्वार्थअनुसार गुट परिवर्तन गर्दै सबैलाई प्रयोग गरिसकेका दुर्गा प्रसाई पछिल्लो समय सुरक्षा चुनौतीको विषय बन्दै गएका छन् । जेनजीको आन्दोलनपछि उपयुक्त मौकाको खोजमिा रहेका दुर्गा प्रसाइँले फेरि सरकारविरुद्ध भड्किलो अभिव्यक्ति दिने क्रम बढाएका छन्। उनले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले कामै गर्न नसकेको भन्दै युवाहरुलाई भड्काउने खालका अभिव्यक्ति दिन थालेका हुन्। भ्रष्टाचारविरुद्ध आन्दोलन भए पनि सत्तामा पुगेका व्यक्ति सक्षम नभएको भन्दै पुनः आन्दोलन चर्काउनुपर्ने प्रसाइँको अभिव्यक्तिले सुरक्षा चुनौती थपिएको छ । पछिल्लो समय जिल्लादेखि केन्द्रीयस्तरको सुरक्षा समितिको बैठकमा प्रसाइँको अभिव्यक्तिको समीक्षा हुन थालेको छ। प्रसाइँको नेतृत्वमा २०८१ चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने केही निजी निवासमा आगजनीका साथै भाटभटेनी सुपरमार्केटमा लुटपाट भएको थियो। प्रसाइँ भने भागेर भारत पुगेका थिए। प्रहरीले प्रसाइँलाई भारत पुगेर पक्राउ गरेको थियो। अदालतको आदेशमा धरौटीमा छुटेका प्रसाइँ जनजीको आन्दोलनपछि थप सक्रिय भएका थिए। चुनावी सरकार गठनअघि प्रधानसेनापति अशोक सिग्देलले प्रसाइँलाई सैनिक मुख्यालयमा डाकेर छलफल गरेका थिए। त्यो छलफलका कारण जेनजीको आन्दोलनमा प्रसाइँको संदिग्ध भूमिका रहेको आशंका बढाउनुका साथै प्रधानसेनापतिमाथि पनि प्रश्न खडा भएको थियो। हुन त आन्दोलनलाई सफलरुपमा अवतरण गराउन जानीबुझिकन नै प्रसाइँलाई त्यतिखेर भाउ दिएको सैनिक अधिकृतहरुको दाबी छ। प्रधानसेनापतिसँगको छलफलमा सहभागी भए पनि नयाँ सरकार गठनमा उनको भूमिका कहिं कतै देखिएन। त्यसैले त उनले अहिले छठपछि आन्दोलन चर्किने प्रचार गर्न थालेका छन्। जनमानसलाई अत्याउने गरी उनले देशको आपूर्ति व्यवस्था नै असहज हुने अभिव्यक्ति दिइरहेका छन्। हिन्दु धर्म र राजसंस्थाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीमा दुई धार प्रष्ट देखिँदा प्रसाइँले आफूलाई खाँटी राजावादीका रुपमा प्रस्तुत गरिरहेका छन्। उनका गतिविधिलाई सहयोग मिल्ने गरी जेनजीका नाममा राजावादी युवाको समूह पनि सक्रिय भइसकेको छ। प्रसाइँले संविधान खारेज र हिन्दु राज्य स्थापनाको माग अगाडि सारेका छन्। प्रसाइँका यस्ता भड्काउपूर्ण अभिव्यक्तिलाई आफूहरुले गम्भीरतापूर्वक समीक्षा गरिरहेको प्रहरीका अर्का उच्च अधिकृतले बताए। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रसाइँको समूहबाट सरकारविरुद्ध भड्काउ खालका अभिव्यक्ति आइरहेकाले निगरानी गर्न भनेका छन्। गृहमन्त्री अर्यालले राजनीतिक दलका केही व्यक्तिले पनि शान्ति सुरक्षाको बिगार्नका लागि भूमिका निर्वाह गर्न सक्ने संकेत गरेका छन्। त्यही कारण सभा, सम्मेलन एवम् विरोधका कार्यक्रम अहिंसात्मक हुने गरी पूर्वस्वीकृति लिएर मात्र गर्न दिन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको छ।

सम्बन्धित समाचार