काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा नाफामा वृद्धि गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३९ करोड ७६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ करोड ३६ लाख २८ हजार रुपैयाँ अर्थात ५६.५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २५ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको बिक्री आम्दानी बढेसँगै अन्य सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढ्न टेवा पुगेको हो। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १ अर्ब ८ करोड १० लाख रुपैयाँबाट बढेर १ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी, कम्पनीको अन्य सञ्चालन आम्दानी २ करोड ७९ लाख रुपैयाँबाट बढेर ५ करोड ६७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३७ करोड ५४ लाख रुपैयाँबाट बढेर ५६ करोड ५० लाख रुपैयाँ पुगेको छ।
सो अवधिसम्ममा ८६ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४९ करोड ३१ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको चुक्ता पूँजी ५७ करोड ८४ लाख रुपैयाँ हुँदा जगेडा कोषमा ४६ करोड ३२ लाख रुपैयाँ थियो।