काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित अवस्थामा रहेका बीमालेख पुनर्जागरण गर्ने बीमितलाई विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ।
कम्पनीले बीमितलाई आफ्नो व्यतित बीमालेख पुनः सक्रिय गराउन प्रोत्साहन गर्ने उद्देश्यले विशेष छुट योजना सार्वजनिक गरेको हो। यो योजना २०८३ मंसिर २१ गतेसम्म सञ्चालन हुनेछ।
कम्पनीका अनुसार बीमालेख व्यतित भएको मितिले दुई वर्ष ननाघेका बीमालेख पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट पाइनेछ। त्यस्तै, दुई वर्ष नाघेका तर चार वर्ष ननाघेका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराइनेछ।
कम्पनीले यस्तो छुट सुविधा सम्पूर्ण बीमा अवधिमा एक पटक मात्र उपलब्ध गराउने जनाएको छ। छुट सुविधाअन्तर्गत पुनर्जागरण गरिएको बीमालेख पछि बीमा अवधिभित्र समर्पण गरेमा छुट दिइएको सम्पूर्ण विलम्ब शुल्क समर्पण मूल्यबाट कट्टा गरिनेछ।
विभिन्न कारणले निष्क्रिय अवस्थामा पुगेका बीमालेखलाई पुनः सक्रिय गराई बीमित तथा उनीहरूको परिवारको आर्थिक सुरक्षालाई निरन्तरता दिन अभियान ल्याइएको कम्पनीले जनाएको छ।
यस अभियानले बीमितलाई आफ्नो बीमालेख निरन्तरता दिन प्रोत्साहन गर्नुका साथै जीवन बीमाको महत्वबारे सचेतना अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ।
कम्पनीले योग्य बीमितलाई अभियानको समयसीमाभित्रै बीमालेख पुनर्जागरण गरी उपलब्ध छुट सुविधाको लाभ लिन आग्रह गरेको छ।
यस योजनासम्बन्धी थप जानकारीका लागि कम्पनीको नजिकको शाखा तथा उपशाखामा सम्पर्क गर्न सकिनेछ। साथै, कम्पनीको सम्पर्क नम्बर ९८०१२३४४४४, टेलिफोन नम्बर ०१-४५३६१२६, इमेल support@sunlife.com.np वा वेबसाइट www.sunlife.com.np मार्फत जानकारी लिन सकिने कम्पनीले जनाएको छ।
