काठमाडौं । लगातार संक्रमितको संख्या थपिनु, आवश्यक किट तथा स्वास्थ्य सामग्रीको अभाव झेलिरहेको बेला लकडाउन खुकुलो बनाउन नहुने निश्कर्ष कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण विडारीले कोरोना रोकथामको लागि चालिएका प्रयासहरु सकारात्मक रहेको बताउँदै लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको बताएका छन् । तर कति दिनसम्म लकडाउन थप्ने भन्नेबारेमा भने आज बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ । सरकारले कोरोना संक्रमण फैलिन नदिन गत चैत ११ गते देखि लकडाउन गरेको छ। उक्त लकडाउन बैशाख २५ गते सकिदैछ। आज बस्ने मन्त्रिपरिषद् बैठकले बढीमा दुई साता, कम्तिमा एक साता लकडाउन थप्ने स्रोतले बताएको छ ।