free website hit counter

उपकुलपतिको दौडमा को को अगाडि ?

beemaadmin
२०७६ माघ १७, शुक्रबार

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति पदका लागि १६ जना चिकित्सकहरुले आवेदन दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ६ गते सार्वजनिक सूचना प्रकाशित गर्दै ५ दिनभित्र इच्छुक उम्मेदवारहरुलाई दरखास्तका लागि आवेदन दिन सक्ने भन्दै आवश्यक मापदण्ड समेत सार्वजनिक गरेको थियो । प्रतिष्ठानको इतिहासमै पहिलो पटक उपकुलपति पदका लागि सार्वजनिक रुपमा आवेदन आह्वान गरिएको हो । आवेदन दिएकाहरुमा डा गुरु खनाल, डा सञ्जिब शर्मा, डा गेहनाथ बराल, डा ज्ञानेन्द्र गिरी, डा नारायण बिक्रम थापा, डा रोजन्द्रप्रसाद साह, डा विक्रमप्रसाद श्रेष्ठ, डा प्रल्हाद कार्की, डा बिएन यादव, डा पारसकुमार पोखरेल, डा सिएस अग्रवाल, डा गजेन्द्रप्रसाद रौनियार, डा बद्रीप्रसाद बडु, डा आरपी बिच्छा, डा अनिल मिश्र र डा हरिषचन्द्र उप्रेती रहेका छन् ।

आवेदन दिएका डा. खनाल प्रतिष्ठानमा रेकटर पदमा कार्यरत छन् । डा. राजकुमार रौनियार अख्तियारको फन्दामा परेपछि उनी निलम्बन भएसँगै मन्त्रालयले खनाललाई निमित्त भिसीको समेत जिम्मेवारी दिएको छ । रजिष्टार तुलबहादुर श्रेष्ठको अवकाशपछि खनालले नै रजिष्टारको समेत जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रतिष्ठानका कर्मचारीहरु भने खनाललाई नै भीसी बनाउनु पर्ने पक्षमा रहेका छन् । मोरङ जिल्ला निवासी खनाललाई भीसी बनाए प्रतिष्ठानले गति लिन सक्ने उनीहरुको मत रहेको छ । त्यस्तैगरी डा. गेहनाथ बराल सरकारी चिकित्सक हुन् । कोशी अञ्चल अस्पतालमा ११आंंै तहमा दरबन्दी राखेर असाधारण बिदा लिएर बीएमसी मेडिकल कलेजमा कार्यरत रहेका बरालमाथि सरकारलाई धोका दिएर निजी अस्प्तालमा कामकाज गरेको आरोप लागोको छ ।

यसैगरी डा. ज्ञानेन्द्र गिरी नोबेल मेडिकल कलेजका सञ्चालक हुन् । अहिलेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले हराएका कलेजकै सञ्चालक रहेका डा. सुनिल शर्मालाई काउन्टर दिनका लागि पनि गिरीलाई प्रतिष्ठानको भीसी बनाउन मन्त्रीले आश्वासन दिएको स्रोतको दाबी छ । प्रतिष्ठानका कर्मचारीहरु भने प्रतिष्ठानभित्रैबाट भीसी बनाउनु पर्ने पक्षमा छन् । त्यस्तै, आवेदन दिने डा. नारायण बिक्रम थापा, डा रोजन्द्रप्रसाद साह, डा विक्रमप्रसाद श्रेष्ठ, डा प्रल्हाद कार्की, डा बिएन यादव, डा पारसकुमार पोखरेल, डा सिएस अग्रवाल प्रतिष्ठानमै कार्यरत चिकित्सक हुन् । यसमध्ये डा. विक्रम श्रेष्ठ प्रतिष्ठानबाट केही महिना अघिमात्र रेक्टर पदबाट अवकाश लिन पुगेका चिकित्सक हुन् ।

डा. प्रल्हाद कार्की र डा. सीएस अग्रवाल यसअघि भीसी पदका प्रबल दाबेदार थिए । डा. कार्कीकी श्रीमती डा. संगीता कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भीसी पदमा कार्यरत छिन् । डा. बीएन यादव पनि सोही प्रतिष्ठानको रेक्टर पदमा नियुक्ति गरिएको भए पनि उनी भीसी डा. कार्कीसँग टिक्न नसकेपछि उपेन्द्र यादव स्वास्थ्य मन्त्री हुँदै मन्त्रालयमा काजमा तानिएका थिए । सोही बेला उनले राजीनामा समेत दिएको हल्ला बजारमा चलेको थियो ।

नयाँ स्वास्थ्यमन्त्री आएपछि उनको काज फिर्ता गर्ने तयारी भइरहेको बुझिएको छ । त्यस्तै डा आरपी बिच्छा कान्ति बाल अस्पतालका निर्देशक पदमा कार्यरत छन् । उनी परिवार स्वास्थ्य महाशाखा, बाल स्वास्थ्य महाशाखा, सार्क क्षयरोग केन्द्रको निर्देशक भइसकेका व्यक्ति हुन् भने उनी केही वर्ष अगाडि कोशी अञ्चल अस्पतालमा कार्यरत थिए । पूर्वमै काम गरेको अनुभव र पूर्वकै बासिन्दा भएका कारण बिच्छाले भीसी पदमा दाबी गरेको हुनसक्ने अड्कल बाजी गरिएको छ ।

भीसी नियुक्तिका लागि प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा तीन सदस्यीय सिफारिश समिति गठन गरिसकेका छन् । उक्त सिफारिश समितिकै निर्णयअनुसार सार्वजनिक सूचना आह्वान भएको हो । सिफारिश समितिमा अर्थसचिव राजन खनाल र राष्ट्रिय योजना आयोगका सदस्य (स्वास्थ्य हेर्ने) डा. उषा झा सदस्य छन् । मन्त्रालय स्रोतकाअुनसार आवेदकहरुमध्येबाट सर्ट लिष्टिङ गर्ने र तीन जनाको नाम प्रधानमन्त्री एवं कुलपतिलाई भीसी नियुक्तिका लागि सिफारिश गर्ने तयारी छ । सम्भवत आगामी हप्तासम्ममा प्रतिष्ठानले नयाँ भीसी पाउने छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि तत्कालिन भीसी डा. राजकुमार रौनियार निलम्बनमा परेपछि प्रतिष्ठान नेतृत्व विहीन रहँदै आएको थियो ।

सम्बन्धित समाचार