काठमाडौं । गर्भवती महिलामा स्वास्थ्य सचेतना अभिवृद्धि तथा सुरक्षित मातृत्व सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका–१९ स्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा एकीकृत मातृत्व स्वास्थ्य प्रवर्द्धन शिविर आयोजना गरिएको छ ।
आमा सुरक्षा नेपालको आयोजनामा तथा नेको इन्स्योरेन्स लिमिटेडको सहकार्यमा सम्पन्न शिविरमा करिब ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा १५ जना गर्भवती महिला, उनीहरूका परिवारका सदस्य तथा महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता थियो ।
शिविरमा गर्भावस्थामा अपनाउनुपर्ने स्वास्थ्य सावधानी, पोषण, मानसिक स्वास्थ्य, सुरक्षित शारीरिक अभ्यास तथा गर्भावस्थामा देखिन सक्ने जोखिमका संकेतबारे विशेषज्ञहरूले जानकारी तथा परामर्श प्रदान गरेका थिए ।
कार्यक्रममा निकिता संग्रौलाले गर्भावस्थामा गर्न सकिने सुरक्षित योग तथा शारीरिक अभ्याससम्बन्धी सत्र सञ्चालन गरेकी थिइन् । उनले गर्भवती महिलाको शारीरिक स्वास्थ्यसँगै परिवारका सदस्यबाट प्राप्त हुने सहयोगको महत्त्वबारे जानकारी गराएकी थिइन् ।
त्यस्तै, डा. सुष्मा ढकालले मातृ मानसिक स्वास्थ्य, पोषण तथा गर्भावस्थामा देखिन सक्ने जोखिमका संकेतबारे प्राविधिक सत्र सञ्चालन गरेकी थिइन् । उनले गर्भावस्थाका क्रममा देखिने असामान्य लक्षण समयमै पहिचान गरी स्वास्थ्य संस्थाबाट आवश्यक सेवा लिनुपर्नेमा जोड दिएकी थिइन् ।
शिविरमा सहभागी गर्भवती महिलाले स्त्रीरोग विशेषज्ञबाट व्यक्तिगत स्वास्थ्य परामर्श लिनुका साथै भ्रूणको मुटुको धड्कन परीक्षण सेवा पनि प्राप्त गरेका थिए । उनीहरूलाई आवश्यक सामग्रीसहितको मातृत्व किट र मातृत्व पहिचान ब्याजसमेत वितरण गरिएको थियो ।
कार्यक्रममा सुरक्षित मातृत्वका लागि परिवारको भूमिकालाई पनि विशेष प्राथमिकता दिइएको थियो । गर्भावस्थामा श्रीमान् तथा परिवारका सदस्यले भावनात्मक र व्यावहारिक सहयोग गर्नुपर्ने तथा आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सहजीकरण गर्नुपर्ने विषयमा सहभागीलाई सचेत गराइएको थियो ।
नेको इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य तथा समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ । मातृ स्वास्थ्यमा केन्द्रित यस कार्यक्रमले गर्भवती महिला तथा उनीहरूका परिवारमा स्वास्थ्य सचेतना बढाउनुका साथै सुरक्षित मातृत्व र समयमै स्वास्थ्य सेवा प्राप्त गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।