free website hit counter

प्रभु महालक्ष्मी लाइफको नाफा ४५.८९ प्रतिशतले बढ्यो

beemaadmin
२०८३ कार्तिक २२, शनिबार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ९ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.८९ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले ६ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

Advertisement
Advertisement

समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ । असोज मसान्तसम्म कम्पनीले १ अर्ब ८८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ थियो । यसअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन ३०.२५ प्रतिशतले बढेको छ ।

Advertisement
Advertisement

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन ३०.३० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८१ करोड ६ लाख रुपैयाँ आर्जन गरेको छ ।

जीवन बीमा कोष ३२.८१ प्रतिशतले बढ्यो

कम्पनीको जीवन बीमा कोषको आकारमा पनि उल्लेख्य वृद्धि भएको छ । असोज मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा १९ अर्ब ७१ करोड ८६ लाख रुपैयाँ सञ्चित रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष १४ अर्ब ८४ करोड ६८ लाख रुपैयाँ थियो । यसअनुसार जीवन बीमा कोषको आकार ३२.८१ प्रतिशतले बढेको हो ।

कम्पनीको चुक्तापुँजी ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको सेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १५ करोड ८३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५१ करोड ७० लाख रुपैयाँ र अन्य इक्विटीमा ३७ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा १४ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा २८ करोड ३७ लाख रुपैयाँ रहेको थियो ।

ईपीएस बढेर ७ रुपैयाँ १ पैसा

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ईपीएस बढेर ७ रुपैयाँ १ पैसा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ रुपैयाँ ८१ पैसा थियो ।

कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६१.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ १८ पैसा कायम भएको छ ।

सम्बन्धित समाचार